राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल देशको दीर्घ, संघर्षमय र परिवर्तनकारी राजनीतिक यात्राबाट प्रेरित भई स्थापित गरिएको एक उदयमान राजनीतिक शक्ति हो। नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि जनताले अपेक्षा गरेको समानता, न्याय र समृद्धिको सपना अझै पूर्णरूपमा साकार हुन सकेको छैन भन्ने यथार्थले पार्टीको उदयलाई आधार प्रदान गरेको छ। इतिहासका महत्वपूर्ण मोडहरूमा नेपाली जनताले स्वतन्त्रता, समानता र सामाजिक न्यायका लागि बहुपक्षीय बलिदान दिए तापनि नागरिकको जीवनस्तरमा तात्विक परिवर्तन ल्याउन राज्य संरचनाले अपेक्षाकृत सफलता हासिल गर्न नसकेको प्रत्यक्ष अनुभूति पार्टी गठनको प्रेरणाको मूल केन्द्रमा रहेको छ। बेरोजगारी, असमानता, भ्रष्टाचार, अवसरको असमान वितरण, स्रोतसाधनको दुरुपयोग तथा गैरजवाफदेही राज्य संयन्त्रका कारण नेपाली समाजमा उत्पन्न विषमता अन्त्य गर्दै समतामूलक, समावेशी र समृद्ध नेपालको मार्गचित्र निर्माण गर्ने लक्ष्यसहित राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल जन्मिएको हो।
लोकतान्त्रिक गणतन्त्रलाई जनताको प्रत्यक्ष सहभागिता, जवाफदेही शासन, न्यायपूर्ण अवसर र पारदर्शी व्यवस्थाबाट मात्र मजबुत बनाउन सकिन्छ भन्ने आदर्शमा पार्टी अडिग छ। “जनताको शासन—जनताकै हातमा” भन्ने भावनालाई व्यवहारमा अवतरण गर्ने उद्देश्यसहित पार्टीले सामाजिक न्याय, समान अवसर, नागरिक स्वतन्त्रता र समतामूलक विकासलाई राज्यका प्राथमिक दायित्वका रूपमा स्थापित गर्न निरन्तर आवाज उठाउँदै आएको छ। समृद्धि केवल स्रोतसाधनको उपभोगबाट होइन, नागरिकको श्रम, सीप, सिर्जनात्मकता र उत्पादनमुखी अर्थतन्त्रको मजबुत निर्माणबाट सम्भव हुन्छ भन्ने दृष्टिकोण पार्टीको मूल वैचारिक आधार हो। यही कारण राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल स्वदेशी उत्पादन, सीप अभिवृद्धि, नवप्रवर्तन, उद्यमशीलता र योग्यताको सम्मानमा आधारित आर्थिक प्रणाली निर्माणका लागि संकल्पबद्ध रहँदै आएको छ।
विश्वभर रहेका नेपाली समुदाय; विशेषगरी विदेशमा बसेर पनि राष्ट्रको परिवर्तन प्रक्रियामा योगदान दिन इच्छुक नागरिकलाई मातृभूमिसँग पुनः जोड्दै साझा राष्ट्रिय समृद्धिको यात्रामा सहभागी गराउने उद्देश्यले पनि यस पार्टीको स्थापना गरिएको हो। भ्रष्टाचार, सत्ता केन्द्रित राजनीति, असमान अवसर र सामन्ती मानसिकताको अन्त्य गर्दै नयाँ राजनीतिक संस्कार, वैचारिक अनुशासन, सकारात्मक नागरिक हस्तक्षेप तथा जनसेवामा केंद्रित शासन प्रणाली निर्माण गर्नु पार्टीको स्थायी प्रतिवद्धता हो। “स्वाभिमानी नागरिक, समान अवसर र आत्मनिर्भर नेपाल साझा समृद्धि” को ऐतिहासिक संकल्प लिएर स्थापित राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल देश रूपान्तरणको युगीन आकांक्षा पूरा गर्ने उद्देश्यले उदय भएको हो, र यही उद्देश्य कार्यान्वयन गर्न राष्ट्रिय जनसमृद्धि पार्टी नेपालको स्थापना २० भाद्र २०८२ मा काठमाडौंमा भएको विषेश भेला मार्फत स्थापना भएको हो ।