नेपाल राजनीतिक परिवर्तनका असंख्य चरणबाट गुज्रिए पनि जनजीवनले अपेक्षित स्थिरता, समानता र समृद्धि हासिल गर्न सकेको अवस्था अझै पनि बनेको छैन। परिवर्तनका हरेक आन्दोलनमा जनताले ठूलो त्याग गरे पनि भ्रष्टाचार, दण्डहीनता, विकासमा असमानता, युवाको पलायन, उत्पादन क्षमतामा कमजोरी र सामाजिक विभेद जस्ता चुनौतीहरू आज पनि यथावत छन्। आफ्नै देशमा श्रम गर्न नपाएर विदेशिन बाध्य युवाहरू, वर्षौंदेखि न्याय र सम्मानको खोजीमा रहेका दलित शोषित समुदाय, कठोर परिश्रम गर्ने किसान,श्रमिक र श्रमको मूल्य नपाएका आम नागरिक सबैले नयाँ राजनीतिक दिशाको खोज गरिरहेका छन्। यही ऐतिहासिक आवश्यकता र जनभावनाको अभिव्यक्तिका रूपमा हाम्रो पार्टी जन्मिएको हो। हाम्रो अस्तित्व राजनीतिक प्रतिस्पर्धा वा सत्ता प्राप्तिको प्रयोजनका लागि होइन। यो राष्ट्र पुनर्निर्माण, सामाजिक न्याय, आत्मनिर्भर अर्थतन्त्र र जनकेन्द्रित शासन व्यावस्थाको निर्माणका लागि रहेको जनजागरण र परिवर्तनशील अभियान हो। यही सुदृढ आधारले “हाम्रो मिसन र भिजन” लाई केवल राजनीतिक शब्द होइन, व्यवहारमा रूपान्तरण हुने राष्ट्रिय प्रतिवद्धताका रूपमा स्थापित गर्छ।
राष्ट्रिय जनसमृद्धि पार्टी नेपालको मिशन सामाजिक न्याय, समानता, गरिमा र अवसरमा आधारित आधुनिक राष्ट्र निर्माण हो। हामी विश्वास गर्छौँ कि सामाजिक रूपान्तरण बिना आर्थिक समृद्धि दिगो बन्न सक्दैन र आर्थिक समृद्धि बिना राजनीतिक स्थिरता सम्भव हुँदैन। त्यसैले हाम्रो मिशन दुई आधारमा अडिएको छ; पहिलो, सामाजिक विभेदहरूको पूर्ण अन्त्य गर्दै समान अवसरयुक्त समाज बनाउने; दोस्रो, उत्पादन : आधारित राष्ट्र निर्माणको नयाँ मोडेल स्थापित गर्ने। जातीय छुवाछूत, दलित उत्पीडन, लैङ्गिक हिंसा, वर्गीय शोषण, क्षेत्रीय असमानता र राज्यको पहुँचभन्दा बाहिर धकेलिएका समुदायहरूको अवस्था हाम्रो परिवर्तनको केन्द्रमा रहन्छ। हामी कृषि, उद्योग, ऊर्जा, प्रविधि, पर्यटन र सीप, उद्यमलाई राष्ट्रिय उत्पादनको मूल स्तम्भ बनाउँदै युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने दिशामा अघि बढ्छौँ। भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी शासनव्यवस्थासँगै हरेक नागरिकले शिक्षा, स्वास्थ्य, आवास, खानेपानी र रोजगारीमा समान पहुँच पाउने संरचना निर्माण हाम्रो तत्कालीन कार्यदिशा हो। यसरी, हाम्रो मिशन केवल सुधार होइन, नयाँ राष्ट्रिय विकास मोडेल निर्माण गर्ने ऐतिहासिक प्रतिबद्धता हो।
हाम्रो भिजन : समृद्ध, आत्मनिर्भर, वैज्ञानिक र न्यायपूर्ण नेपाल निर्माण गर्ने दीर्घकालीन राष्ट्रिय मार्गचित्र हो। हामीले परिकल्पना गरेको भविष्य त्यही हो जहाँ आर्थिक समृद्धि उत्पादनमा आधारित हुनेछ, सामाजिक संरचना समानतामा टिक्नेछ, र राजनीतिक प्रणाली पारदर्शी, उत्तरदायी तथा जनमुखी हुनेछ। हाम्रो भिजनले ग्रामीण र शहरी दुबै क्षेत्रलाई समान प्राथमिकता दिन्छ, जहाँ काठमाडौँ मात्र होइन, कर्णाली, सुदूरपश्चिम, मधेस, पहाड र हिमालका नागरिकले समान अवसर र सेवाहरू प्राप्त गर्ने छन्। प्रविधिमैत्री प्रशासन, डिजिटल लोकतन्त्र, अनुसन्धान, नवप्रवर्तनमा आधारित आधुनिक प्रणाली, युवालाई नेतृत्वदायी स्थान, र अन्तर्राष्ट्रिय समुदायसँग समतामूलक सहकार्य यीनै तत्वहरूले नयाँ नेपालको रूपरेखा तय गर्छन्। हामीले कल्पना गरेको राष्ट्र निर्माणको यात्रा केवल पार्टीको लक्ष्य मात्र होइन; यो प्रत्येक नेपालीको सपना, संघर्ष र आकांक्षालाई मूर्तरूप दिने साझा परियोजना हो। त्यसैले, हाम्रो भिजन भविष्यको कल्पना मात्र होइन; देश, जनता र इतिहासप्रति गरिएको गम्भीर र दिगो प्रतिज्ञा हो, जसले नेपालको राष्ट्रिय गौरव, सामाजिक न्याय र समृद्ध भविष्यलाई सुरक्षित गर्नेछ।